आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आज अत्तरियामा प्रभातफेरी निकालिएको छ ।
उक्त प्रभातफेरीमा आदिकवि भानुभक्त आचार्यको फोटोलाई टेम्पोमा सजाएर प्रसिद्ध कविता वाचक सरु गुरागाइँद्वारा वाचन गरिएको आदिकवि भानुभक्त आचार्य रचित रामायणलाई माइकबाट बजाइँदै अत्तरिया बजार परिक्रमा गरिएको थियो ।
साथै उक्त प्रभातफेरीमा सुदूरपश्चिम प्रदेशको मौलिक पञ्चेबाजा एवम् हुड्केली नाँचको अगुवाइमा अत्तरिया बजार परिक्रमा गरिएको थियो । जसमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, गोदावरी न.पा. वडा नं १ का अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्ट, वडा नं ३ का वडा अध्यक्ष श्री तेजराज अवस्थी प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी एवम् सञ्चालक समितिका सदस्यहरु, पुस्तकालयका दानदाता÷आजीवन सदस्यहरु एवम् नियमित पाठक, अत्तरिया स्थित पृथ्वीनगर आमा समूहका अध्यक्ष एवम् महिला सदस्यहरु, अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना मा.वि. तथा सुदूरपश्चिम मा.वि.का विद्यार्थीहरु, अत्तरिया क्षेत्रका जनप्रतिनिधिहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी कर्मचारी, बुद्धिजिवी, कलाकार, महिला तथा सर्वसाधारण आदि गरेर करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।
प्रभातफेरीको समाप्ति लगत्तै प्रतिभा सामुदायिक पुस्तकालयको सभाकक्षमा गोदावरी नगरपालिका अन्तर मा.वि.स्तरीय कविता प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका उपाध्यक्ष यज्ञराज हमाल योगेन्द्रको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको कार्यक्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व तथा कृतित्वको विषयमा पुस्तकालयका सल्लाहकार समिति सदस्य तथा वरिष्ठ साहित्यकार निर्मलकुमार भण्डारीले प्रकाश पार्नुभएको थियो । त्यसपछि गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रहरुबाट आएका ११ वटा मा.वि. स्तरका (कक्षा ९ र १० ) मा अध्ययन गर्ने छात्र–छात्राहरुका बीच कविता वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव राजबहादुर कडायतले गर्नुभएको थियो ।