कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरियाको थोक तरकारी हाटबजारमा बिक्रीका लागि ल्याइएको अत्यधिक विषादीयुक्त ५.६ क्वीन्टर अर्थात २८ क्रेट टमाटर नष्ट गरिएको छ।
गोदावरी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष गोपालदत्त भट्टका अनुसार, शनिबार बिहान बजारमा परीक्षणका लागि ल्याइएका टमाटरमा उच्च मात्रामा विषादी भेटिएपछि सुरक्षा निकाय, हाटबजार ब्यावस्थापन समिति अध्यक्ष, प्राबिधिक लगायतको रहोबारमा खाडल खनी टमाटरलाई गाडिएको हो।
प्रवक्ता भट्टले विषादीको अत्यधिक मात्रा भेटिएको टमाटर उपभोग गर्न अयोग्य ठहरिएकाले खाडल खनी नष्ट गर्नुपरेको जानकारी दिए। उनका अनुसार सार्वजनिक स्वास्थ्यलाई प्राथमिकता दिँदै केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ अत्तरिया कैलालीले नियमित रूपमा हाटबजारमा बिक्री वितरणका लागि ल्याइने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ।
“स्वस्थ्यकर खानपान नगरवासीको अधिकार हो। त्यसैले विषादीको मात्रा तोकिएको मापदण्डभन्दा धेरै भएका तरकारी बजारमै निषेध गरी नष्ट गर्ने नीति अनुसार हामी अघि बढिरहेका छौं,” भट्टले बताए।
कृषि उपज थोक बजार समितिका अध्यक्ष डिल्लीराज जोशीका अनुसार, बिहान खान अयोग्य भेटिएको टमाटर रोल्पाको तिलाबाट दाँङ आएको र दाङबाट बाट अत्तरियाको तरकारी थोक बजारमा भित्र्याइएको बताएका छन ।
केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, अत्तरियाका नायब प्राविधिक सहायक भुवनेश्वर जोशी र राजेन्द्र प्रसाद भट्ट का अनुसार, परीक्षणमा टमाटरमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ९५.६७४ प्रतिशत रुकावट दर रहेको पाइएको हो।
उनका अनुसार, तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम हुँदा मात्र उपभोग गर्न मिल्ने हुन्छ। ३५–४५ प्रतिशतसम्मको अवस्थामा क्वारेन्टाइनमा राख्न मिल्ने भए पनि ४५ प्रतिशतभन्दा माथिको विषादी भेटिएमा त्यस्ता तरकारी पूर्ण रूपमा उपभोग अयोग्य ठहरिन्छन् र नष्ट गर्नुपर्छ।
अत्तरिया हाटबजारमा दैनिक रूपमा विषादी परीक्षण हुँदै आएको छ।