डोटीको बोगटान-फुड्सिल गाउँपालिकाले पठन संस्कृतिको विकास तथा कला, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि मातृभूमि महोत्सवको आयोजना गर्ने भएको छ। गाउँपालिकाले समृद्ध बोगटान अभियानअन्तर्गत पहिलोपटक यस्तो महोत्सव गर्न लागेको हो।
गाउँपालिका अध्यक्ष कमल गड्सिलाका अनुसार महोत्सवको उद्देश्य बोगटान-फुड्सिल क्षेत्रको मौलिक कला, साहित्य र संस्कृतिको संरक्षण तथा सिर्जनशील प्रतिभाको पहिचान र प्रोत्साहन गर्नु हो।
महोत्सवमा बोगटानमा जन्मिएका मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र चर्चित लोकदेउडा गायक यज्ञराज उपाध्यायलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको छ। महोत्सवमा जोशीका 'ऐना', 'सखी' र 'बाआमा' लगायतका कृतिमाथि विमर्श हुने जनाइएको छ। यस्तै, उपाध्यायको 'काली–कर्णाली' लोकसाहित्य ग्रन्थबारे पनि समालोचना गरिनेछ।
अध्यक्ष गड्सिलाले महोत्सवमा पठन संस्कृति प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। "कार्यक्रममा विद्यार्थीहरूलाई साहित्य र संस्कृतिप्रति रुचि जगाउने उद्देश्यले प्रेरणादायी प्रवचन, अन्तरक्रिया, साहित्यिक वाचन, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति हुनेछ," उनले भने।
गाउँपालिकाले कक्षा ६ माथिका सबै विद्यार्थीलाई साहित्यकार जोशीको ‘बाआमा’ पुस्तक र हरेक विद्यालयमा यज्ञराज उपाध्यायको ‘काली–कर्णाली’ ग्रन्थ वितरण गर्ने निर्णयसमेत गरेको छ। यसले विद्यार्थीहरूमा पठन संस्कृति र सृजनशीलताको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै बोगटानको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचो बनाउने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ।
साहित्यकार रामलाल जोशीले आफ्नो जन्मभूमिले यस्तो सिर्जनात्मक पहल थालेकोमा खुसी व्यक्त गरेका छन्। “जन्मभूमिले यस्तो कार्यक्रम गर्न लागेको खबरले मलाई निकै उत्साहित बनाएको छ,” उनले भने, “यो अभियान बोगटानको समृद्धि तर्फको कोशेढुंगा हुनेछ।”
उनले गाउँवासीहरूलाई यस अभियानमा साथ दिन आग्रहसमेत गरे। “गाउँपालिकाको यस्तो पहलले भविष्यमा अझ धेरै सिर्जनशील गतिविधिहरू गर्न प्रेरणा दिनेछ,” जोशीले बताए।