जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेको व्यक्तिको तस्बिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भएको भन्दै सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भएको छ । रास्वपाका नेता दीपक बोहराले पनि उक्त तस्बिर फेसबुकमा राखेका छन्।
यो फोटो रास्वपा सभापति लामिछानेको हो कि होइन प्रहरीले पुष्टि गरिसकेको छैन। तर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले यसबारे प्रहरीले अनुसन्धान गरिराखेको बताए।
‘यो फोटोको वास्तविकता र खिच्ने तथा पोस्ट गर्ने व्यक्तिको खोजी भइरहेको छ, प्रहरीले अनुसन्धान गरिराखेको छ,’ उनले भने, ‘फोटो खिच्ने र सार्वजनिक गर्ने व्यक्ति पहिचान गरेपछि प्रचलित कानुनअनुसार कारबाही अघि बढ्छ।’
तर डा. निकोलस भुसालले भने उक्त तस्बिर रवि लामिछानेकै भएको र आफूले खिचेको दाबी गरेका छन्।
‘रवि दाइलाई भेटिसकेपछि पुलिसकै अगाडि मैले उक्त फोटो खिचेको हो, रवि लामिछानेको अवस्था के छ भनेर म स्वास्थ्य जाँच गर्न गएको थिएँ,’ भुसालले एक भिडिओमा दाबी गरेका छन्, ‘रवि लामिछानेको अवस्था देखाउन पनि मैले यो तस्बिर फेसबुकमा पोस्ट गरेको थिएँ।’
रास्वपा सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते केन्द्रीय कार्यालय च:मतिबाट पक्राउ परेका थिए। उनलाई सोही दिन कास्की लगिएको थियो।
लामिछानेलाई हिरासतमा राख्न प्रहरीले पछिल्लो पटक कास्की जिल्ला चार दिनको म्याद लिएको थियो। लामिछानेविरूद्ध शुक्रबारभित्रै कास्की अदालतमा मुद्दा पेस गरिसक्नुपर्छ।