डडेल्धुरा - दूध र मासुमा डडेल्धुरा जिल्ला पूर्ण रूपमा आत्मनिर्भर रहेको छ। भित्री मधेश क्षेत्र आलिताल गाउँपालिकाबाट प्रत्येक साता नौ हजार लिटर दूध दुग्ध विकास संस्थान धनगढीले लैजाने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख चिकित्सक देवराज भट्टका अनुसार चालू आर्थिक वर्षमा कार्यालयको कुल बजेट पाँच करोड ४० लाख रुपियाँ रहेको छ।
स्थानीय जातको गड्डी भैँसीको संरक्षण प्रवद्र्धनका लागि १० लाख, गाई ब्लक कार्यक्रमअन्तर्गत १६ लाख रुपियाँको लागतमा सडक कोरिडोर निर्माणसमेत गरिँदै छ। सो कोरिडोरमा अढाई सय परिवार संलग्न छन् भने साढे पाँच सय उन्नत गाई पालन गरिएको छ। प्रत्येक दिन अढाई हजारदेखि तीन हजार लिटरसम्म दूध उत्पादन हुने गरेको छ।
भैँसी विकास कार्यक्रमतर्फ नवदुर्गा गाउँपालिका–१, कोटेली र भागेश्वर गाउँपालिका–५, गोलाई गाउँमा २०र२० गरी ४० गोठ सुधार निर्माणका लागि ६० लाख रुपियाँ विनियोजन गरिएको छ। सीमान्तकृत वर्ग, लक्षित वर्ग, एकल महिला, निम्न आय भएका समुदायका लागि आलिताल गाउँपालिका–६ का दुई वटा समुदायमा बङ्गुरपालन गर्न ३० लाख रुपियाँ छुट्याइएको छ।
बाख्रा विकासका लागि ३० लाख रुपियाँ, अमरगढी नगरपालिका–२, मौरडामा गाई–भैँसी फार्म सुदृढीकरणका लागि २० लाख रुपियाँ, गाई–भैँसीको कम्पोस्ट मल, गड्यौला मल उत्पादनका लागि ४० लाख रुपियाँ, एकीकृत पशु व्यवस्थापन प्रवद्र्धनका लागि छवटा समुदायमा २१ लाख रुपियाँ विनियोजन गरिएको जनाइएको छ।
प्रमुख चिकित्सक भट्टका अनुसार पोषण सुधारतर्फ एक सय परिवारका लागि १० लाख रुपियाँ, व्यावसायिक बाख्रा फार्म सुदृढीकरणका लागि ३० लाख रुपियाँ, विपन्न दलित समुदामा बाख्रा, बङ्गुर, कुखुरापालनका लागि ३० लाख रुपियाँ, पशुपन्छी आकस्मिक तथा महामारी रोग नियन्त्रणका लागि १० लाख रुपियाँ, अन्य पशु शिविरका लागि छ लाख रुपियाँ विनियोजन गरेर काम भइरहेको छ।