धनगढी - सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षणमा जोड दिनुपर्ने बताएका छन्। प्रमुख जोशीले बाजुरेली सेवा समाजद्वारा धनगढीस्थित खुलामञ्चमा आयोजित भुवा पर्वको शुक्रबार उद्घाटन गर्दै संस्कृति, चाडपर्वको जगेर्ना गर्न आवश्यक रहेको बताए।
उनले भने , “हाम्रो पहिचान छैन भने हाम्रो धर्म र हामी मानव हुनुको औचित्य छैन। त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ।” उनले भुवा पर्व आयोजना गरेर सराहनीय र प्रशंसनीय कार्य गरेको चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा प्रदेश प्रमुख जोशीले भुवा पर्वका अवसरमा प्रदेश सरकारले सकेसम्म प्रदेशभरि नै बिदा दिनुपर्ने बताए। पहिले प्रदेशभरि बिदा दिइएकोमा अहिले पहाडका चार जिल्लामा मात्रै प्रदेश सरकारले सार्वजनिक बिदा दिने गरेको छ। पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले भुवा पर्वका अवसरमा सरकारले प्रदेशभरि नै बिदा दिनुपर्ने बताए।
खुलामञ्चमा तीन दिनसम्म विभिन्न नृत्य देखाएर भुवा पर्व मनाइने जानकारी समाजले दिएको छ। हातहातमा तरबार र ढाल नचाउँदै भुवा पर्वमा नृत्य गर्ने चलन छ। पहाडी जिल्ला बाजुरामा धुमधामसाथ मनाइने यो पर्व कैलाली, कञ्चनपुरमा बसाइँ सरेर आएका बाजुरेलीले कैलालीमा समेत मनाउँदै आएका छन्।
भुवा आत्मसुरक्षा, सीमा सुरक्षा र विजय प्राप्तिका लागि खेलिने खेल रहेको बाजुरेली सेवा समाजका पूर्वअध्यक्ष कुलबहादुर हमालले बताए। यो पर्वले भाइचाराको सम्बन्ध बढाउनुका साथै संस्कृतिको जगेर्ना गर्ने गरेको उनको भनाइ छ। उनले भने, “हामीबीच जस्तोसुकै रिसराग भए पनि भुवा पर्वको अबिर लगाइसकेपछि मनको रिस सबै शान्त हुन्छ।” उनले भने, “त्यही भएर अरूले होलीमा अबिर लगाएजस्तै हामीले भुवा पर्वमा अबिर लगाएर नृत्य देखाउने गरेका छौँ।” द्वापर युगमा कौरव र पाण्डवबीचको लडाइँमा पाण्डव विजयी भएको स्मरण गर्दै भुवो खेल्ने गरिएको हमालले बताए।