नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्ने भएको छ।
कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउन लागेको हो।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। जसअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तालिका सार्वजनिक गरिएको छ।
देउवा पक्षका अनुसार वडा अधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइएको छ। आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको नेता किरणराज पौडेलले जानकारी दिएका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले यसअघि तत्काल महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो। संस्थापन पक्षले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया सुरु गरेको हो।
देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।