काठमान्डौ- नेपालमा र भारतमा एकसाथ प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सनको ट्रेलर आज सार्वजनिक भएको छ ।
आज अथार्त बिहीवार ‘जी म्युजिक कम्पनी’मार्फत १ मिनेट ५८ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मको कथा राजगद्दी र प्रेम–गीत पात्रको वरिपरी घुमेको प्रस्ट्याएको छ । साउथका चर्चित कलाकारहरूले अभिनय गरेको फिल्मको हिन्दी डबमा आवाज दिएका प्राविधिकहरूले नै ‘प्रेमगीत ३’को डबिङ गरेका छन् । धेरैले ‘प्रेमगीत ३’ लाई ‘बाहुबली’को फ्लेवर पनि भनिरहेका छन् ।
उक्त चलचित्र असोज ७ गतेबाट नेपाल र भारतमा ’ एकसाथ प्रदर्शनमा आउन भएको छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङ शीर्ष भूमिकामा छन् ।
साथमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा, क्रिजन गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ । अधिकांश कलाकारहरू हिन्दी ट्रेलरमा देखिएका छन् ।
स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमको लेखन रहेको ‘प्रेम गीत ३’ ढुंगेयुगको कथामा निर्माण भएको छ ।