काठमाडौं - नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमबीच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए ।
लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए ।‘धेरै अग्रज र सम्मानित कलाकारहरु काँग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई काँग्रेस मन परेको हो,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको उल्लेख गरे ।
अभिनेता शाहीले द्रव्य, सौर्य, हसियाँ, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको विहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढि चलचित्रमा अभिनय गरेका छन् ।