अत्तरिया - सुदूरपश्चिम प्रदेश सभा स्थापना भएको आज ठिक चार वर्ष पुरा भएको छ । २०७४ माघ ७ गते आजकै दिन प्रदेश सभामा प्रदेश सांसदहरुले सपथ लिएका थिए । स्थापना भएको चार वर्ष पुगेको अवसरमा आज प्रदेश सभाले स्थापना दिवस पनि मनाउँदैछ ।
चार वर्षको अवधिमा प्रदेश सभाका आठवटा अधिवेशनमा २३० वटा बैठक बसेका छन् । यस अवधिमा ५६ वटा विधेयक पारित गरिएको प्रदेशसभाले जनाएको छ । प्रदेशसभामा ६० वटा विधेयक दर्ता भएका थिए । जसमा चारवटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् ।
प्रदेश सभाले चार वर्षमा ५६ विधेयक पारित भएपनि विधेयक पछि बन्ने ऐन कानूनको कार्यान्वयनमा फितलोपन देखिएको गुनासो बढ्दो छ । सरकारले अधिकांश विषयमा ध्यान नदिने गरेको विशेषगरि प्रतिपक्षी सांसदहरुको गुनासो छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल सुदूरपश्चिम प्रदेश सभाले चार वर्षमा जनभावना अनुसार प्रदेश सरकारले काम गर्न नसकेको आरोप लगाए । उनले यस्तो कुराहरुले प्रदेश सरकारमाथि प्रश्नचिन्ह खडा भएको बताए ।
योजना दिन बजेट छुट्याउने, त्यसै योजनाबाट कमिसन मागेका गुनासोहरू धेरै आउने गरेको बताए । प्रदेश सरकारले ४ वर्षमा ल्याएका अधिकांश योजनाहरु प्रभावहीन देखिएका छन् । प्रदेश सरकारले ल्याएका हलो सिएम कार्यक्रम, प्रदेश बस सञ्चालन सेवा र प्रदेश गौरवका योजनामा कुनै पनि प्रगति देखिएको छैन ।
तर उता प्रदेश सरकारले भने चार वर्षमा कानुन निर्माणमा सन्तोषजनक उपलब्धि भएको दाबी गर्दै आएको छ । कानुन निर्माणमा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् ।
उनले सरकारले बनाएको लोकसेवा आयोग गठन, युवा स्वरोजगार कोष स्थापना, उद्योग–व्यवसाय सञ्चालन, सुशासन, सहकारी, कृषि सम्बन्धी महत्वपूर्ण विधेयक पारित भएको बताइन् ।