अत्तरिया - सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिका नौ वटै जिल्लामा गरि चार महिनाको अवधिमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
प्रदेशको राजधानी कैलालीमा १० जनाको मृत्यु भएको छ भने अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक एक जना संक्रमितको मृत्यु भएको छ ।
कैलालीका १० जना मध्ये गोदावरी नगरपालिकाका मात्रै ५ जना संक्रमितको मृत्यु छ । पहिलो पटक असार ३ गते गोदावारी नगरपालिकाका वडा नं १ अत्तरियाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्यमा समस्या देखा परेपछि धनगढीको नवजिवन अस्पतालमा उपचारर गराइरहेकाका उनमा संक्रमण पुष्टि भएपछि उनलाई सेती अस्पतालमा लगिएको थियो । उनी अत्तरियाका बस व्यवसायी रहेका थिए ।
त्यसपछि असार १३ गते क्यान्सर पीडित गोदावरी ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । फोक्साको क्यान्सरको उपचार गराइरहेका उनमा पनि मृत्यु अघि नै कोरोना पुष्टि भएको थियो ।
त्यस्तै भदौमा १० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी ११ का एक पुरुषको मृत्यु भयो । धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार गराइरेकामा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । सेती अस्पतालमा उपचाररत ४५ बर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो ।
यसैगरि असोज १० गते भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो । मिर्गाैलाको दीर्घरोगी रहेको ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो ।
त्यसपछि असोज १४ गते सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी १२ की ३० बर्षीया महिलाको मृत्यु भएको हो । निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान अस्पतालमा भर्ना भएकी थिइन् । राति ८ बजे मृत्यु भएकी उनमा बिहिवार कोरोना पुष्टि भएको हो ।