काठमाडौं -नेपालीले शरीरलाई चाहिने भन्दा बढी नुन खाने गरेको तथ्य पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोग सम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण) ले यस्तो तथ्य देखाएको हो ।
स्टेप्स सर्वेक्षणका अनुसार नेपालीले प्रतिदिन ९ ग्रामसम्म नुन खाने गर्दछन् । जबकी विश्व स्वास्थ्य संगठनले दिनको ५ ग्रामसम्म मात्रै नुन खान सिफारिस गरेको छ । २४ देखि ३९ वर्षसम्म उमेरका मानिसले दिनको ९.४ ग्रामसम्म नुन खाने गरेको पाइएको सर्वेक्षणले देखाएको छ ।
शहरी क्षेत्रमा बस्ने नेपालीले दिनको ९.२ ग्राम नुन खाने गरेका छन् । सबैभन्दा धेरै नुन कर्णाली प्रदेशमा बस्नेहरुले खाने गरेको र प्रदेश ५ का मानिसले सबैभन्दा कम नुन खाने गरेको पाइएको छ । कर्णालीका मानिसले सरदर ९.२ ग्राम र प्रदेश ५ का ले ८.७ ग्राम खान्छन् ।
यस्तै सर्वेक्षणले नेपालमा पछिल्लो ६ वर्षमा धुमपान प्रयोगकर्ता घटेको र मदिरा सेवनकर्ता बढेको देखाएको छ । सन् २०१३ मा नेपालमा सूर्तिजन्य पदार्थको सेवनकर्ता ३०.७ प्रतिशत रहेकोमा सन् २०१९ मा यो संख्या घटेर २८.९ मा झरेको छ ।
यस्तै सोही समयमा धुमपान प्रयोगकर्ताको संख्या १८.४ प्रतिशतबाट घटेर १७.१ प्रतिशतमा आएको छ । यस्तै मदिरा सेवनकर्ता भने बढेको पाइयो । सन् २०१९ मा २०.८ प्रतिशतले मदिरा सेवन गरेको पाइयो जबकी मदिरा सेवनकर्ताको संख्या सन् २०१३ मा १७.४ प्रतिशत थियो ।
यसैगरी मुख स्वास्थ्यमा ध्यान दिनेहरुको संख्या पनि बढेको छ । सन् २०१३ मा २३ प्रतिशतलाई मुख स्वास्थ्य सम्वन्धी समस्या थियो भने अहिले जनचेतनाका कारण मुख स्वास्थ्यमा ध्यान दिएकाले १४ प्रतिशत मानिसलाई ओरल समस्या रहेको पाइयो ।
प्रत्येक ५ वर्षमा स्टेप्स सर्वेक्षण हुँदै आएको छ । यसपटकको सर्वेक्षणमा ५ हजार ५९३ जनाले सहभागिता थियो । सर्वेक्षणमा बानी व्यवहार सम्बन्धी मदिरा, आहार, शारीरिक क्रियाकलाप विवरणहरु संकलन गरिएको थियो ।