बैतडी- बैतडीको पाटन नगरपालिकामा गत आर्थिक बर्षमा ५३ लाख १५ हजार ७२१ रुपैंया अनिमियता भएको पाइएको छ । नगरपालिकाको छानबीन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो । पाटन नगरपालिकामा कोरोना नियन्त्रण र अन्य शीर्षकमा अनियमित खर्च भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबीन समिति गठन भएको थियो । छानबीन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ५३ लाख बढी रकमको कुनै पनि बील भरपाई फेला नपरेकाले असुल उपर गर्नुपर्ने औंल्याएको छ । समितिले कोभीड १९ को रोकथामका लागि खर्च गरिएको रकममा अनियमितता देखिएको जनाएको छ ।
छानबीन समितिका संयोजक भीमदत्त भट्टले प्रतिवेदन सार्वजनिक गर्दै कोभीड १९ को नियन्त्रणका लागि खरीद गरिएका औषधि, आरडीटी कीटमा समेत आर्थिक ऐन नियम विपरीत खर्च गरेको देखिएको बताउनुभयो । यस्तै गाडीभाडा, राहत वितरण, राष्ट्रपतिको स्वागत कार्यक्रम, इन्धन र सवारी साधन लगायतका शीर्षकमा अनियमित खर्च भएको प्रतिवेदनमा औंल्याइएको छ ।
यस्तै आइसोलेसन कक्ष निर्माण, सञ्चार शीर्षक, तालिम कार्यक्रम, सवारी साधन मर्मत, भम्रण भत्ता लगायतका शीर्षकमा खर्च अनियमित भएको समितिले ठहर गरेको छ । यस्तै डिपीआर, सडक निर्माण, विविध, सरसफाई तथा संरचना निर्माण, पत्रपत्रिका तथा सूचना प्रकाशन लगायतका शीर्षकमा अनियमित रुपमा खर्च भएको समितिको ठहर छ ।
अनियमित खर्च गर्नेमा जनप्रतिनिधि देखि कर्मचारीहरुको समेत संलग्नता रहेको समितिले औंल्याएको छ । समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरुले औंल्याएको अनियमित खर्च असुल उपर गर्न समेत नगरपालिकालाई आग्रह गरेको छ । छानबीनका क्रममा आफूलाई नगरपालिकाको लेखाशाखाबाट शंकास्पद कागजपत्र माग्दा नदिएको समितिले आरोप लगाएको छ ।