अत्तरिया - कैलालीको धनगढी सहित आजदेखी देशभर दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सन्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल संचालनमा आएको हो ।
केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् ।
यसैगरि धनगढीमा पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी छ रहेको साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए । उनले प्रदेशभरी अन्य कुनै स्थानमा पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्न इच्छा राखे साल्ट ट्रेडिङले सहयोग गर्ने बताएका छन् ।
उनले सुपथ मूल्य पसलबाट चिनी, नुन र चामल बिक्री हुने बताए। चिनी प्रति किलो ७० र नुन प्रति किलो १८ रुपैँया निर्धारण गरेको पाण्डेयले बताए। नुन र चिनी प्रति व्यक्ति चार किलो खरिद गर्न पाईनेछ।
एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।
चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ । त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत ठाउँमा सहुलियत पसल हुने छन् ।