काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो संविधान सभासदहरुलाई पदकसहित सम्मानित गरेकी छन्। संविधान निर्माणमा योगदान पुर्याएको भन्दै ११०९ जना सभासदलाई राष्ट्रपति भण्डारीले विभूषित गरेकी हुन्।
शितल निवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले रोलक्रमअनुसार पदकसहित सम्मान गरेकी हुन्। सम्मानित हुनेमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादवलगायत छन्।
त्यस्तै, पूर्वप्रधानमन्त्रीहरु पनि सम्मानित हुनेमा परेका छन्। लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित सूचीमा रहेको छ।
यता सुदुरपश्चिम प्रदेशबाट पूर्वमन्त्री भीमबहादुर रावल, लेखराज भट्ट, रमेश लेखक, विरबहादुर बलायर, रामजनम चौधरी, गौरीशंकर चौधरी, जनकराज चौधरी, नारायण प्रकाश साउँद, नर बहादुर चन्द, दामोदर भण्डारी, दीर्घराज भाट, मोहन सिँह राठौर लगाएतका बर्तमान र पूर्व सांसदहरु समेत रहेका छन् ।
संविधानसभा पदक पाउनेहरुमा २०६४ र २०७० सालमा प्रत्यक्ष तथा समानुपातिक सांसदमा निर्वाचित भएकाहरु रहेका छन् । गणतन्त्र दिवसको अवसरमा करिब ११ सयभन्दा बढी सभासदहरुलाई सम्मानित गर्न लागेको हो।