अत्तरिया - लोकसेवा आयोगले देशैभरका स्थानिय तहका लागि ९ हजार जना कर्मचारी पदपूर्तिका लागि बिज्ञापन खुल्ला गरेको छ । देशभरका लोकसेवा आयोगका १४ कार्यालयबाट आज ९ हजार १ सय ६१ जनाका लागि विज्ञापन खुल्ला गरिएको हो ।
ती कार्यालयको कार्य क्षेत्रमा पर्ने स्थानीय तहका पदलाई एकीकृत गरेर विज्ञापन खुलाएको लोकसेवा आयोगले जनाएको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा काम गर्न समस्या भैरहेको जनप्रतिनिधिहरुको गुनासो बढ्दै गएको छ । स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न कुल नौ हजार १ सय ६१ जनाका लागि आवेदन माग गरिएको हो । आयोगले प्राविधिक तथा अप्राविधिक दुबै तर्फ चौथो, पाँचौ र छैठौं तहका लागि विज्ञापन खुलाएको छ ।
आयोगका अनुसार योग्यता पुगेका उमेद्वारहरुले अनलाइनमार्फत असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै दोब्बर दस्तुर तिरेर साउन १० गते सम्म पनि आवेदन दिन सकिनेछ । दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १ हजार रुपैयाँ र समावेशी थप ४ सय रुपैयाँ, तह ५ का लागि खुला ४ सय र समावेशी २ सय रुपैया , तह ४ को खुलाका लागि ३ सय समावेशीका लागि १५० रुपैया तोकिएको छ । आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।
प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको छ । साउन, भदौ र असोजमा परीक्षा सञ्चालन गर्ने तथा अन्तर्वार्ता र सिफारिस असोज, कात्तिक र मंसिरमा गर्ने गरी कार्यतालिका जारी गरिएको आयोगले जनाएको छ । आयोगले पाँच महिनाको अवधिमा उमेदवार छनौट गरिसक्ने गरी काम गर्न लागेको हो ।
स्थानीय तहका लागि ६६ हजार ९०८ दरबन्दी स्वीकृत गर्दै सरकारले गत चैतमा कर्मचारी समायोजन गरेको थियो । मन्त्रालयले पटक पटक स्थानीय तहलाई रिक्त दरबन्दी संख्या खुलाएर पठाउन पत्राचार गरे पनि अहिले सम्म ५ सय ५५ वटा स्थानीय तहले मात्रै विवरण पठाएका छन् । यसअनुसार १४ हजार कर्मचारीको दरबन्दी पदपुर्ति गर्नु देखिएको छ ।