धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारवाही हुने बताएका छन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको नेत्रित्वमा गएको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले घटनामा संलग्न जो कोहीलाई पनि कारवाही हुने बताएका हुन्। उनले कानुन भन्दा माथि कोही नहुने बताउँदै गलत गर्ने ब्यक्तीलाई कानुन को दायरामा ल्याउनै पर्ने बताए ।
‘दिनेश सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउँने वित्तिकै मैले प्रहरी, प्रशासनसंग कुराकानी गरेको थिए,’ मुख्यमन्त्री भट्टले भने, ‘आज पनि तपाईं पत्रकारहरु आउने थाहा पाएपछी कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे जानकारी लिएको छु। घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु।’
समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चार गृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए। नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे।
शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ बर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो।
तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए। तर प्रहरीले भने अहिले पनि १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको बताउँदै आएको छ।