धनगढी– कैलालीमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज पनि आन्दोलन भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीको अगुवाईमा आन्दोलन जारी रहेको छ। दिनेश संचार गृहमा भएको आक्रमणमा संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो।
आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। सोही अनुसार आज प्रशासनमा एक घण्टा धर्ना दिइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष जगत साउँदले बताए।
धर्नापछि संम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका महासचिव योगेश रावलले पत्रकारलाई न्याय दिन प्रहरी प्रशासन उदासिन बनेको बताउँदै आम नागरिको अवस्था कस्तो होला भनेर प्रश्न गरे।
‘मिडियामाथि समाचार कक्षभित्रै पत्रकार कुटिएका छन्,’ उनले भने, ‘पीडित पक्षले किटानी जोहरी दिएर पनि दोषीलाई पक्राउ नगर्नु बिडम्बना हो।’ नेपाल पत्रकार महासंघका पूव केन्द्रिय सदस्य कर्ण शाहले कोरोना महामारीमा पनि बाध्य भएर आन्दोलित हुनु परेको बताए।
पत्रकार घनवहादु्र शाहले प्रहरी प्रशासनमाथिको विश्वास कायम राख्नका लागि आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने बताए। ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानका उप–महासचिव गोविन्द रोस्याराले प्रहरीको भूमिकामाथि औला उठाउने ठाउँ देखिएको बताए। उनले कोरोना महामारीको बेलामा सडकमा आउन बाध्य भएको बताउँदै प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताए।
दलित पत्रकार संघकी प्रदेश अध्यक्ष रमा भट्टराईले सञ्चार गृहमाथिको हमला दुखद भएको बताउँदै पत्रकारमाथिको आक्रमण सह्य नभएको बताइन्। यस्तै नेपाल पत्रकार महासंघ कैलाली शाखाले आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझएको छ।
यस्तै महासंघले आन्दोलन अन्तर्गत भोली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।
शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।