स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले प्रसूति गर्नुपरेको घटनाको छानबिन भइरहेको र दोषी देखिए कारबाही गरिने बताएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालले स्पष्टीकरण बुझाइसकेको जानकारी दिइन्।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। टोलीमा स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझीसमेत छन्।
यस्तै, जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको मन्त्री मेहताले जानकारी दिइन्। घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर थप छानबिन अघि बढाइएको उनले बताइन्।
सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने मन्त्री मेहताको भनाइ छ।
उनका अनुसार सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ। प्रसूति सेवाका लागि आउने-जाने यातायात खर्चसमेत सरकारले उपलब्ध गराउने व्यवस्था रहेको उनले बताइन्।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्री मेहताले स्पष्ट पारिन्।
‘सुरक्षित मातृत्व हरेक आमाको अधिकार हो। कुनै पनि आमाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसव गर्नुपर्ने अवस्था आउनु हुँदैन,’ उनले भनिन्।