नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुन सक्ने चेतावनी दिएका छन्।
कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।
उनले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने धारणा राखे।
लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पारे। उनका अनुसार १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई पनि केन्द्रीय कार्यसमितिमा समेटिनुपर्छ।
त्यस्तै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए।
‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौं, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने।
पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले अझै पनि पार्टीलाई एकताबद्ध गर्ने सम्भावना रहेको बताए।
‘अहिले पनि उपाय छ। आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ लेखकले भने।