सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व गौराको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज हर्षोल्लासका साथ मनाइँदैछ।
दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा आज गौरा देवीको पूजाआजा गरी विभिन्न मन्दिर तथा गौराखलामा जात्रा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी समुदायले पनि गौरा देवीको स्थापना गरिएका स्थानमा भेला भएर पर्व मनाइरहेका छन्।
गौरा सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। रोजगारी तथा अन्य कामका सिलसिलामा भारतलगायत विभिन्न देशमा गएकाहरू पर्व मनाउन घर फर्किएपछि गाउँघरमा थप चहलपहल बढेको छ।
गौरा पर्वको पहिलो दिन भदौ शुक्ल पञ्चमीमा महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाउने चलन छ। त्यसैले पञ्चमीलाई बिरुडा पञ्चमी पनि भनिन्छ।
षष्ठीका दिन बिरुडा नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने र सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा गर्ने परम्परा छ। विवाहित महिलाहरूले गौरा देवीलाई दुवधागो चढाउने चलनसमेत रहेको छ।
अठवाली अर्थात् अष्टमीका दिन व्रत बसेर गौराखलामा पार्वती र शिवको पूजाआजा गर्ने गरिन्छ। आजको दिनलाई दुर्वाष्टमी पनि भनिन्छ।
गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवी–देवताका गाथा तथा सामाजिक विषयवस्तु प्रस्तुत गरिन्छ। चैतली, धुमरी, ढुस्कोलगायत भाकामा देउडा खेल्ने गरिन्छ।
देउडाका माध्यमबाट सामाजिक विकृति, राजनीतिक अवस्था तथा समसामयिक विषयमाथि व्यङ्ग्य गर्ने परम्परा पनि छ। देउडा गीतमार्फत सुख–दुःख साटासाट गर्नुका साथै सामाजिक सद्भाव र आपसी एकता कायम गर्ने गरिन्छ।