उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि आवश्यक नरहेको बताएका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सिंहदरबारमा भेटवार्ता गर्दै घिसिङले पर्याप्त उपकरण घटनास्थलमा पुर्याएर उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
उज्यालो नेपाल पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका घिसिङले उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकारलाई सुझाव दिएको बताए। केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका घिसिङले आफूले देखेका र भोगेका समस्याका आधारमा समाधानका उपायसमेत प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको जानकारी दिए।
प्रधानमन्त्री शाहले जलविद्युत् आयोजनाका सुरुङभित्र थुनिएका मानिसको उद्धारका विषयमा विशेष चासो राखेको घिसिङले बताए।
‘मुख्यगरी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँको जिज्ञासा र चासो थियो। त्यसबारे हामीले बुझेका र गर्नुपर्ने कामहरू उहाँसमक्ष राखेका छौँ,’ घिसिङले भने, ‘जस्तोसुकै काम गर्नुपरे पनि सुरुङमा फसेकाहरूको उद्धारका लागि सबै स्रोत परिचालन गर्ने उहाँले भन्नुभएको छ।’
प्रधानमन्त्री शाहले देशभित्र उपलब्ध स्रोतसाधनले नपुगे विदेशबाट भए पनि आवश्यक उपकरण ल्याएर सुरुङ उद्धारलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको घिसिङले बताए।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुरुङमा उद्धारका लागि विशेष प्रविधि उपलब्ध नभएको बताएका थिए। घिसिङले पनि सुरुङ उद्धारका लागि ‘विशेष प्रविधि’ आवश्यक नरहेको बताएका छन्।
‘विशेष प्रविधि भन्ने त केही पनि हुँदैन। कामैले गर्ने हो। हामीले घटनास्थलमा आवश्यक उपकरणहरू लैजानुपर्यो। उद्धार टोली हुनुपर्यो। टिमले मात्रै नपुग्ने भएकाले पर्याप्त उपकरण पुग्नुपर्यो,’ घिसिङले भने, ‘मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्याउन गाह्रो भएकाले हो।’
उनका अनुसार सुरुङमा जमेको गेग्रान तथा ढुंगा हटाउन पर्याप्त उपकरण र दक्ष उद्धार टोली घटनास्थलमा पुर्याउन सके उद्धार कार्य प्रभावकारी बनाउन सकिन्छ। त्यसका लागि कुनै विशेष प्रविधि आवश्यक नपर्ने उनको भनाइ छ।