प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित सुरुङ क्षेत्रमा परेको विपत्ति विशेष प्रकृतिको रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बाढीबाट भएको क्षति तथा उद्धार प्रयासबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीसँगै आएको हिलो र माटोले सुरुङ पूर्ण रूपमा थुनिएकाले त्यहाँ तत्काल उद्धार गर्न सक्ने विशेषज्ञता र प्रविधि विश्वका कुनै पनि देशसँग नरहेको दाबी गरे।
‘यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ। पहिरो पन्छाएर उद्धार गर्ने एक्सपर्ट विश्वभरि पाइन्छ। यो पहिरो प्रभावित भएर थुनिएको टनेल होइन,’ प्रधानमन्त्री शाहले भने, ‘बाढीसँगै हिलो–माटोले पूर्ण रूपमा थुनिएका टनेल हुन्। यससँग काम गर्न सक्ने एक्सपर्टिज कुनै देशसँग थिएन। तत्कालै गर्न सक्ने टेक्नोलोजी कसैसँग छैन।’
उनका अनुसार सुरुङभित्र उद्धारका लागि आवश्यक उपकरण परिचालनमा समेत भौतिक कठिनाइ रहेको थियो। एउटा टनेलमा एकपटकमा दुईवटाभन्दा बढी एक्साभेटरले काम गर्न नमिल्ने अवस्था रहेको उनले बताए।
प्रधानमन्त्री शाहले मित्र राष्ट्रहरूबाट उद्धारका लागि आएका टोलीहरूलाई समेत प्रभावित क्षेत्रमा तत्काल पुर्याउन नसकिएको बताए। उनका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था थिएन।
‘त्यहाँ अवतरण हुन सक्ने अवस्था नै थिएन। मित्र राष्ट्रका उद्धार टोलीहरूले पनि त्यहाँ अवतरण गर्न सक्ने स्थिति भएपछि मात्रै आउनुभएको हो,’ उनले भने।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा भदौ १० गते आएको भोटेकोसी–त्रिशूली बाढीपछि सरकारले गरेका खोज, उद्धार तथा राहतका कामबारे संसदलाई जानकारी गराउँदै उक्त धारणा राखेका हुन्।