सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताएका छन्। उनले विगतका बेथिति र कमजोरी सच्याउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताएका हुन्।
नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नयाँ बजेट निर्माण गरिने बताए।
उनका अनुसार नयाँ बजेटमा दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलगायत जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकता दिइनेछ।
‘जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,’ मुख्यमन्त्री भट्टले भने, ‘राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौँ।’
मुख्यमन्त्री भट्टले प्रदेशको आवश्यकता र जनताको अपेक्षालाई केन्द्रमा राखेर बजेट पुनर्लेखन गरिने बताए। विगतका कमजोरीलाई सच्याउँदै आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिने उनको भनाइ छ।
उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका महत्वपूर्ण क्षेत्रलाई समेटेर नागरिकले देख्न र महसुस गर्न सक्ने परिवर्तन ल्याउने गरी बजेट व्यवस्था गरिने बताए।
यसैगरी, मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडकलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताएका छन्। प्रदेशका महत्वपूर्ण तथा रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाइने उनले जानकारी दिए।
यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको काम यसै वर्षदेखि सुरु गर्ने तयारी रहेको मुख्यमन्त्री भट्टले बताए। राजधानी निर्माण केवल भौतिक संरचना निर्माण गर्ने विषय नभई सुदूरपश्चिमको मौलिकता र पहिचान स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उनको भनाइ छ।
नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरी सुधार गर्दै प्रदेशको विकासमा नयाँ आयाम थपिने मुख्यमन्त्री भट्टले दाबी गरेका छन्।