रसुवामा आएको बाढीका कारण विभिन्न जिल्लामा गरी अहिलेसम्म ७८१ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार चितवनमा २७२, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, धादिङमा ५०, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको छ।
बेपत्ता हुनेमध्ये रसुवाबाट मात्रै ५६२ जना छन्। त्यस्तै विदेशी नागरिक ५९२, विदेशी पर्यटकसँगै रहेका नेपाली १२७ तथा जलविद्युत आयोजनाबाट १३३ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। सेनाको हेलिकप्टरमार्फत २४४ जना विदेशी र ३ हजार ६७ जना नेपाली गरी ३ हजार ३११ जनाको हवाई उद्धार गरिएको छ।
आइतबार मात्रै जलविद्युत आयोजनाबाट १५ जना चिनियाँ नागरिकको उद्धार गरिएको जनाइएको छ। हवाई उद्धारका लागि हालसम्म ३९४ वटा उडान भएका छन्।
बाढीमा परी २६७ जना घाइते भएका छन्, जसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।