रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ६४४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो १२ बजेसम्म सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा १२७ नेपाली र ५१७ विदेशी नागरिक रहेका छन्।
सम्पर्कविहीन विदेशी नागरिकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। बोर्डका अनुसार भारतका १७८ जना सम्पर्कविहीन भएका छन्। त्यस्तै अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना सम्पर्कविहीन छन्।
बोर्डको विवरणअनुसार जर्मनीका ८, रुसका ८, सिंगापुरका ९, लाटभियाका ६, दक्षिण अफ्रिकाका ६, जापानका ५, न्युजिल्यान्डका ५ तथा फ्रान्सका ४ जना पनि सम्पर्कविहीन भएको उल्लेख छ। अन्य विभिन्न देशका नागरिक पनि सूचीमा छन्।
पर्यटन बोर्डले यो विवरण ट्रेकिङ तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा तयार गरिएको जनाएको छ। सम्पर्कविहीन भनिएका व्यक्तिहरूको वास्तविक अवस्था र उनीहरू कहाँ छन् भन्नेबारे ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण प्रमाणीकरण भइरहेको बोर्डले जनाएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नदी किनारका बस्ती तथा संरचनामा ठूलो क्षति पुर्याएको छ। रसुवासहित आसपासका जिल्लामा सडक, पुल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पत्ता लगाउने, घाइते तथा अलपत्र परेकाको उद्धार गर्ने कार्य भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ। खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।