सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले कैलालीस्थित गौरीफन्टा सीमा नाकाको निरीक्षण गरेका छन्।
सीमा सुरक्षा व्यवस्थापन, सीमावर्ती क्षेत्रका समस्या तथा सीमापार अपराधको अवस्थाबारे जानकारी लिन आईजीपी पौडेलले गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी अधिकारी तथा सुरक्षाकर्मीसँग सीमाको पछिल्लो अवस्था, सुरक्षा चुनौती र सीमापार आवतजावतबारे जानकारी लिए। साथै, सीमावर्ती नागरिकसँग भेटघाट गरी उनीहरूका गुनासा तथा समस्या समेत सुने।
स्थानीयले सीमा क्षेत्रमा आवतजावतमा हुने कठिनाइ, सीमापार अपराध तथा सुरक्षासँग सम्बन्धित विषयमा आईजीपी पौडेलसमक्ष गुनासा राखेका थिए। पौडेलले नागरिकका समस्या र सीमामा देखिएका चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने बताएका छन्।
उनले सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी सीमा क्षेत्रमा निरन्तर सक्रिय भएर खटिएको बताए। सीमासम्बन्धी समस्या, अपराध नियन्त्रण तथा नागरिक सुरक्षाका विषयमा स्थलगत रूपमा अवस्थाको अध्ययन गरिरहेको उनको भनाइ थियो।
निरीक्षणका क्रममा भारतीय सुरक्षा अधिकारीहरूले समेत आईजीपी पौडेललाई स्वागत गरेका थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सेकेन्ड कमान्डेन्ट रुपेश मधुवान, ३९ बटालियन पलियाका डिप्टी कमान्डेन्ट जगजित बहादुर जैगवार तथा गौरीफन्टाका एसिस्टेन्ट कमान्डेन्ट रवि कुमार सामोता लगायतका अधिकारीले उनलाई स्वागत गरेका थिए।