सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्। सोहीअनुसार आज नेकपाको संसदीय दलको बैठक बसे पनि ६ जना सांसद भने अनुपस्थित भएका छन्।
अनुपस्थित हुने सांसदहरू तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका हुन्। नेकपाका प्रमुख सचेतकसमेत रहेका खुसीराम चौधरी, प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी, लक्ष्मण चौधरी, टीका थापा र पूर्वराज्यमन्त्री इन्दिरा गिरी बैठकमा उपस्थित भएनन्।
बैठकमा अनुपस्थित यी ६ सांसदले सामूहिक तस्बिर सार्वजनिक गर्दै आफूहरू एकै ठाउँमा रहेको सन्देश दिएका छन्। उनीहरूको यो गतिविधिलाई मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुअघि अर्थपूर्ण रूपमा हेरिएको छ।
तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई नेकपामा विलय गराएकी थिइन्। तर अहिले रञ्जिताको पक्षमा एक जना मात्रै सांसद रहेको बताइएको छ भने अन्य ६ सांसद नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको सम्पर्कमा रहेको बताइन्छ।
नेकपा–नेकपा एमालेको गठबन्धनमा नेकपा संसदीय दलका नेता खगराज भट्ट साउन २९ गते सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।
अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ।