नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको बताएका छन्।
काठमाडौंमा जारी आफूपक्षीय कांग्रेस सम्मेलनमा बोल्दै देउवाले आफ्नो व्रतबन्ध र विवाहसमेत हिन्दु परम्पराअनुसार भएको बताए। आफू नियमित रूपमा मन्दिर जाने र पशुपतिनाथको पूजा गर्ने उल्लेख गर्दै उनले भने, ‘त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ।’
देउवाले आफू नेपाल धर्मनिरपेक्ष मुलुक होस् भन्ने पक्षमा रहेको भए पनि अन्तिम निर्णय जनताको चाहनाअनुसार हुने बताए। नेता–कार्यकर्ताले हिन्दु धर्मका विषयमा केही बोल्न आग्रह गरेकाले आफूले यसबारे धारणा राखेको उनको भनाइ थियो।
उनले बौद्ध धर्मको समेत प्रशंसा गर्दै हिन्दु र बौद्ध धर्मलाई विज्ञान तथा प्रकृतिले समेत स्वीकार गरेको बताए।
सोही क्रममा देउवाले आफूलाई पञ्चायतकालदेखि राजाको शासन हुँदै अहिले पनि न्यायालयले न्याय दिएको दाबी गरे। अदालतकै कारण आफू नेपाल फर्कन पाएको उल्लेख गर्दै उनले भने, ‘राजाले थुन्दाखेरी पनि न्यायालयले बचाएको हो। पञ्चायतमा पनि बचायो। अहिले पनि न्यायालयले बचाएको छ।’
विशेष महाधिवेशनको विषयमा आफूले अहिले धेरै बोल्न नचाहेको बताउँदै देउवाले आफूहरूले अदालतमा मुद्दा दायर गरेको र न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताए। उनले विशेष महाधिवेशन आफूले नचाहेको भए पनि जबर्जस्ती धेरै साथीहरूलाई बाहिर राखिएको दाबी गरे।
‘अदालतले अन्याय भयो भनेको छ। पूरा निर्णय आउन बाँकी छ। मलाई विश्वास छ, मैले न्याय पाउँछु,’ देउवाले भने।