नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार प्रारम्भिक चरणमै अन्योल र अलमलमा देखिएको टिप्पणी गरेका छन्।
कांग्रेस इतरपक्षको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार ‘मुलुकका समसामयिक विषय’सम्बन्धी अवधारणापत्र प्रस्तुत गर्दै साउदले सरकारको कार्यशैलीमा पारदर्शिता र जवाफदेहिताको कमी देखिएको आरोप लगाए।
साउदले प्रधानमन्त्री शाहले संसद र राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्न नचाहेको दाबी गरे। विपक्षी दलसँग मात्र नभई आफ्नै संसदीय दलसँगसमेत प्रधानमन्त्रीले पर्याप्त परामर्श नगरेको उनको आरोप छ।
उनका अनुसार प्रधानमन्त्रीको ‘एक्लै हिँड्ने शैली’ र सामाजिक सञ्जालमा आधारित ‘पपुलिजम’का कारण सरकार र संसद तथा राजनीतिक दलबीचको दूरी बढ्दै गएको छ।
संसदको अधिवेशन आह्वान भइसकेपछि त्यसलाई स्थगित गरी आठवटा अध्यादेश जारी गरिनु लोकतान्त्रिक पद्धतिअनुकूल नभएको साउदले टिप्पणी गरे।
सरकारी सेवाप्रवाह सुधारका नाममा गरिएका प्रारम्भिक प्रयाससमेत दिगो हुन नसकेको उनको भनाइ छ। अहिले पुनः सरकारी कार्यालयमा सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले प्रशासनिक सुधारको प्रभावकारितामाथि प्रश्न उठाए।
सुकुम्वासी व्यवस्थापनमा पनि सरकार असफल भएको साउदले आरोप लगाए। पूर्वतयारीबिना घरजग्गा तथा आवासविहीन सुकुम्वासीलाई ‘अमानवीय’ ढंगले हटाइएको र हटाइएको साढे तीन महिना बितिसक्दा पनि उचित व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।
सरकारको ‘असहिष्णु’ चरित्रका कारण मधेस–तराईमा तीन जनाको ज्यान जाने गरी सामाजिक सद्भाव बिग्रिएको समेत साउदले दाबी गरे।
साउदले सरकारलाई आलोचना मात्र नगरी आर्थिक तथा रोजगारीका क्षेत्रमा स्पष्ट नीति ल्याउन सुझाव दिएका छन्। कानुनको शासनभित्र निजीक्षेत्रलाई लगानी, उत्पादन र रोजगारी सिर्जनाको साझेदारका रूपमा विकास गर्नुपर्ने उनले बताए।
अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अनुसन्धानलाई प्रमाणमा आधारित, पारदर्शी र निष्पक्ष बनाउनुपर्ने तथा लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ।
युवालाई विदेश जान रोक्ने प्रयासभन्दा नेपालमै अवसर सिर्जना गर्ने नीति आवश्यक रहेको साउदले बताए। सीप विकास, स्टार्टअप, उद्यमशीलता, डिजिटल अर्थतन्त्र, कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्ने स्पष्ट कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। साथै, युवालाई नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता दिनुपर्ने साउदले बताए।