नेपाली कांग्रेस इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भएको अवस्थामा कसैले पनि पराजित गर्न नसक्ने बताए।
‘यो भेलाको आयोजना गर्नुपर्यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ उनले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो।’
सम्बोधनका क्रममा उनले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगको पुरानो सम्बन्धबारे पनि स्मरण गरे। उनका पिता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उनले बताए।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो। उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो। त्यो दिन हामीले तीन वटा सिनेमा हेर्यौं।’
कोइरालाले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको बताए। देउवाको भाग्य राम्रो रहेको उल्लेख गर्दै उनले देउवा पुनः प्रधानमन्त्री बन्न सक्ने समेत बताए।
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र गुटगत गतिविधिबीच इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।