नेपाली कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर बलियो तथा एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।
विगत दुई महिनादेखि कांग्रेसको आन्तरिक एकता र संगठन सुदृढीकरणका विषयमा निरन्तर संवाद, छलफल तथा विमर्श गर्दै आएको अभियानले राजधानीमा बुद्धिजीवी तथा नागरिक अगुवाहरूसँग अन्तरक्रिया गरेको हो।
कार्यक्रममा अभियानको उद्देश्यबारे प्रकाश पार्दै कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले देश संकटमा परेको अवस्थामा पार्टीभित्रको एकता झनै आवश्यक रहेको बताए।
उनले गाउँदेखि केन्द्रसम्मका कांग्रेस कार्यकर्ता पार्टीभित्र गुटबन्दी र विभाजनको सट्टा नेतृत्वबीच एकता र सहकार्य चाहिरहेको बताए।
‘गाउँका जनता र भुईं कांग्रेसको एउटै अपेक्षा छ—कांग्रेस बलियो र एकताबद्ध होस्। कार्यकर्ता विभाजन चाहँदैनन्, उनीहरू नेतृत्व मिलेको हेर्न चाहन्छन्,’ महरले भने।
उनका अनुसार कांग्रेसभित्रको आन्तरिक विवाद अब नेताहरूबीचको विषयमा मात्र सीमित छैन। यसको प्रत्यक्ष प्रभाव संगठन, कार्यकर्ता र आम नागरिकको मनोविज्ञानमा समेत परेको छ। त्यसैले पार्टीलाई पुनः जनतासँग जोड्न आन्तरिक एकता पहिलो सर्त भएको उनको भनाइ छ।
महरले पार्टीभित्र मतभिन्नता र वैचारिक बहस स्वाभाविक भए पनि त्यसकै कारण कांग्रेस कमजोर हुने अवस्था स्वीकार्य नहुने बताए।
‘कांग्रेसभित्र मतभिन्नता हुन सक्छ, विचारमा बहस हुन सक्छ, नेतृत्वका लागि प्रतिस्पर्धा पनि हुन सक्छ। तर पार्टी नै कमजोर हुने गरी विभाजन स्वीकार्य हुँदैन,’ उनले भने।
हालै सम्पन्न राष्ट्रिय भेलाले कांग्रेस एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै महरले पार्टी एकताका लागि सबै तहका नेताहरू व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।
‘कांग्रेस एकताको कुरा गर्ने हो भने सबैभन्दा पहिले नेताहरू त्यागका लागि तयार हुनुपर्छ। कसैले एक कदम पछाडि हट्नुपर्छ, कसैले आफ्नो अडानमा पुनर्विचार गर्नुपर्छ। तर कांग्रेसलाई फुटबाट जोगाउनैपर्छ,’ उनले भने।
महरले कांग्रेसको एकता पार्टीभित्रको व्यवस्थापनको विषय मात्र नभई लोकतन्त्र र देशको भविष्यसँग जोडिएको राष्ट्रिय आवश्यकता भएको दाबी गरे।
‘आज देशलाई बलियो लोकतान्त्रिक शक्ति चाहिएको छ। त्यो भूमिका निर्वाह गर्ने जिम्मेवारी कांग्रेसको हो। त्यसैले कांग्रेस कमजोर हुने, फुट्ने वा विभाजित हुने अवस्था देशका लागि पनि सुखद होइन,’ उनले भने।
अब देशव्यापी हस्ताक्षर संकलन
राष्ट्रिय सभा सांसदसमेत रहेका नेता रञ्जित कर्णका अनुसार अब कांग्रेस एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिनेछ।
कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले अभियानले विभिन्न जिल्लामा हस्ताक्षर संकलन गर्ने जनाएको छ।