बहुप्रतीक्षित नागढुंगा सुरूङ मार्ग सोमबारदेखि सञ्चालनमा आएको छ। पहिलो चरणमा भने एम्बुलेन्स, दमकल, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका आपतकालीन सवारी साधनलाई मात्र सुरूङ मार्ग प्रयोग गर्न दिइने भएको छ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरूङ मार्गको सञ्चालनलाई व्यवस्थित बनाउन सुरुमा अत्यावश्यक तथा आपतकालीन सवारीलाई मात्र अनुमति दिइएको हो। अन्य योग्य सवारी साधनलाई भने चरणबद्ध रूपमा प्रवेश दिइने उनले बताए।
सुरूङ मार्गबाट कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस, मिनीबस, ट्रक तथा अन्य भारी सवारी साधन सञ्चालन गर्न सकिनेछ। तर मोटरसाइकल, तीनपांग्रे सवारी, पेट्रोल, डिजेल, एलपी ग्यासलगायत अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारी तथा पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ।
आयोजनाका अनुसार आगामी १५ दिनसम्म सुरूङ मार्ग प्रयोग गर्न कुनै शुल्क लाग्ने छैन। त्यसपछि हलुका सवारीका लागि काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० शुल्क लाग्ने प्रस्ताव गरिएको छ। अन्य सवारी साधनका लागि पनि वर्गअनुसार छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेको यो आयोजना जापानको करिब रु. २२ अर्ब सहुलियत ऋण र नेपाल सरकारको रु. ६ अर्ब लगानीमा निर्माण भएको हो।
नागढुंगा सुरूङ मार्ग सञ्चालनसँगै सिस्नेखोला–बलम्बु यात्रा छोटिने, ट्राफिक जाम कम हुने, इन्धन बचत हुने तथा काठमाडौं प्रवेश र बाहिरिने यात्रामा क्रमशः करिब ३३ मिनेट र २३ मिनेट समय बचत हुने अपेक्षा गरिएको छ।