नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य समायोजन गर्दै घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले कमी गरिएको छ। त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ कटौती गरिएको छ।
संशोधित मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रका लागि पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम गरिएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। सुर्खेत र दाङ समेटिएको दोस्रो वर्गमा पेट्रोल १९६ रुपैयाँ र डिजेल १९४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
यस्तै, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य घटेसँगै १४.२ किलोग्रामको सिलिन्डर अब २ हजार ६० रुपैयाँमा उपलब्ध हुनेछ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीमार्फत मूल्य समायोजन गरिएको हो।