सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि गठित सिफारिस समितिले उपकुलपति पदका लागि आवेदन दिएका तीन र रजिस्ट्रारका लागि सात जनाको नाम सर्टलिस्टमा समावेश गरेको हो ।
सिफारिस समितिको सूचनाअनुसार विश्वविद्यालयको उपकुपतिमा तनहुँका प्रा.डा. काजिराम अधिकारी, काठमाडौंका प्रा.डा. सुनिलकुमार जोशी र रुपन्देहीका प्रा.डा. माधव लम्साल सर्टलिस्टमा परेका छन् । जोशी विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् । सरकारले अध्यादेश ल्याएपछि उनी पदमुक्त भएका थिए ।
यस्तै, विश्वविद्यालयको रजिस्ट्रारका लागि कैलालीका प्रा.डा. पदमराज जोशी, तनहुँका प्रा.डा. काजिराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डा. कादिर आलम, बर्दियाका प्रा.डा. दयाराम पोखरेल, बैतडीका राजेशकुमार ठकुराठी र कञ्चनपुरका डा. डमरुप्रसाद पनेरुको आवेदन सर्टलिस्टमा परेको छ । सिफारिस समितिका अनुसार प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत उपकुलपति र रजिस्ट्रार छनोट गरिनेछ । त्यसका लागि १५ असारको मिति तोकिएको समितिले जनाएको छ ।
विश्वविद्यालयसभाको बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । अवस्थीका अनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधामा विद्यावारिधि, डीएम, एमसीएच वा सोसरहको उपाधि प्राप्त गरेको, कुनै विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने कार्यविधि छ ।
रजिस्ट्रारका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको तथा उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको पद वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष कार्यअनुभव हासिल भएको हुनुपर्ने भनिएको थियो ।