काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेन–जी आन्दोलनपछि बनेको युवा नेतृत्वको सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई देशले सुन्न चाहिरहेको बताएका छन्।
नेपाल प्रेस युनियनको विधानसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताको भावी दिशा बारे प्रधानमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।
यादवले प्रतिनिधिसभाबाट बनेको सरकार संसदप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित भएर आफ्नो योजना र दृष्टिकोण सार्वजनिक गर्नुपर्ने धारणा राखे।
“प्रधानमन्त्री संसदमा आउनुपर्छ । दुई महिना भइसक्यो । उहाँले के सोच राख्नुभएको छ ? देशलाई कुन दिशा लैजानुहुन्छ ? टुँडिखेलबाट राष्ट्रलाई सम्बोधन गर्नुपर्छ,” उनले भने।
उनले भारतको लालकिल्लाबाट प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गरेजस्तै नेपालमा पनि टुँडिखेलबाट प्रधानमन्त्रीले देशको दिशा, गणतन्त्र, संघीयता, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धबारे आफ्नो योजना सार्वजनिक गर्नुपर्ने बताए।
“उहाँबाट कुरा सुन्न जनता आतुर छन् । देश र हाउसलाई एड्रेस गर्नुभएको छैन,” यादवले भने।
पूर्वराष्ट्रपति यादवले वर्तमान संसदीय व्यवस्था हजारौँ नागरिकको बलिदानी र दशकौँको संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्दै अघि बढाउनुपर्ने धारणा राखे।
उनले प्रतिनिधिसभा, सरकार, न्यायपालिका र राष्ट्रपति कार्यालयजस्ता संवैधानिक संस्थाले आ–आफ्नो भूमिका र विधिअनुसार काम गरे मात्रै लोकतान्त्रिक प्रणाली सुदृढ हुने बताए।