काठमाडौँ- आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। २०६३ साल वैशाख ११ गते जनआन्दोलनको बलमा विघटित संसद् पुनःस्थापना भएपछि यस दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको हो।
२०५९ सालमा संसद् विघटन भएसँगै देश राजनीतिक अस्थिरतामा धकेलिएको थियो। सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन नसक्दा तत्कालीन राजा ज्ञानेन्द्रले आफूअनुकूल सरकार गठन र विघटन गर्ने क्रम चलाएका थिए। यस अवधिमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भई पदमुक्त भएका थिए।
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो। त्यसपछि २०६२/६३ को जनआन्दोलन तीव्र बन्दै देशभर लाखौँ नागरिक सडकमा उत्रिएका थिए।
आन्दोलनको चापपछि २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले संसद् पुनःस्थापना गर्ने घोषणा गरेका थिए। उक्त दिनलाई नेपालको लोकतन्त्र पुनर्स्थापनाको ऐतिहासिक क्षणका रूपमा लिने गरिन्छ।
यसै प्रक्रियाबाट २०६३ जेठ ४ गते संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै गणतन्त्रतर्फको बाटो खोलेको थियो। त्यसपछि २०६४ चैत २८ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो भने २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो।
पछिल्लो क्रममा २०७२ असोज ३ गते नयाँ संविधान जारी भई हाल संघ, प्रदेश र स्थानीय तहका सरकारमार्फत शासन सञ्चालन भइरहेको छ। लोकतन्त्र दिवसका अवसरमा देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम, सभा तथा सचेतनामूलक गतिविधि आयोजना गरिएका छन्।