प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।
यसपटक प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुँदैछ। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका उम्मेदवारसहित कुल ३ हजार ४०६ जना (३,०१७ पुरुष, ३८८ महिला र १ अन्य) प्रतिस्पर्धामा छन्। समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार (१,३६३ पुरुष र १,७७२ महिला) चुनावी मैदानमा छन्।
निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुँदैछन्, जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य छन्। साथै १ लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तोकिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन सम्पन्न गराउन २ लाख १५ हजार कर्मचारी खटिएका छन्।
यस निर्वाचनको अनुगमनका लागि चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था परिचालित छन्। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदाधिकारीहरूले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।