फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा) बिक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा आयोगले उक्त निर्णय गरेको हो। आयोगले निर्वाचनको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत गरेको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा वस्तुस्थितिको सूक्ष्म आँकलन गर्दै यस्तो सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। मदिरा सेवनका कारण हुनसक्ने सम्भावित झडप र अशान्तिलाई रोक्न यो कदम चालिएको उनको भनाइ छ।
प्रवक्ता भट्टराईका अनुसार आयोगले फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू गर्ने जनाएको छ।
साथै, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत लगायत) र पास प्राप्त बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको उनले बताए।
यसैबीच, केही प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको उजुरी परेपछि आयोगले त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।
शिक्षा ऐन र निर्वाचन आचारसंहिताविपरीत दलको प्रचारमा हिँड्ने कर्मचारीलाई पदबाटै हटाउनेसम्मको कारबाही हुने प्रवक्ता भट्टराईले बताए।
शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ ले विद्यालय वा विश्वविद्यालयमा सम्बद्ध कर्मचारी र शिक्षकलाई कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न, सवारीसाधन वा भवन प्रयोग गर्न दिन पूर्ण रूपमा रोक लगाएको छ। दलको कार्यकारिणी समितिमा रहेको पाइएमा पदबाटै हटाइनेसम्मको कानूनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
शिक्षक तथा कर्मचारीलाई सचेत गराउँदै प्रवक्ता भट्टराईले भने, “शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा र तटस्थतालाई मनन् गर्दै कुनै दल वा उम्मेदवारको प्रचारप्रसार नगर्न सचेत गराइन्छ। आचारसंहिता प्रतिकुल हुनेगरी गतिविधिमा सामेल भएको पाइएमा कानुन बमोजिम कडा कारबाही हुनेछ।”