सुदूरपश्चिम प्रदेशमा डेंगी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण रहेको देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर सात हजार ६८३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा तीन हजार ३४९ जनामा डेंगी सङ्क्रमण देखिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा सङ्ख्यामा सामान्य कमी आए पनि जोखिम भने कायमै रहेको उनले बताए। सो वर्ष तीन हजार ३१६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
चालु आर्थिक वर्षमा हालसम्म प्रदेशमा एक हजार १८ जना डेंगीबाट प्रभावित भइसकेका छन्। अधिकृत जोशीले अघिल्ला वर्षको तुलनामा सङ्क्रमण दर केही घटेको देखिए पनि जोखिम टरेको छैन भने। विशेषगरी तराईका जिल्लामा यसको प्रभाव बढी रहेको उनको भनाइ छ।
निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेंगीबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण पहाडी जिल्लामासमेत डेंगीका बिरामी फेला पर्न थालेका अधिकृत जोशीले जानकारी दिए। उनका अनुसार डेंगी नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन्।
यसैबीच, घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सतर्कता अपनाउनमा कमी आउँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन्। ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि सचेतना मुख्य उपाय भएको अधिकृत जोशीले बताए।
निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ।