आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थी भक्तजनको घुइँचो लागेको छ।
नेपालका विभिन्न स्थानका साथै छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्रीहरू पशुपतिनाथ पुगेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि रहेपछि चतुर्दशी प्रारम्भ हुने र मध्यरातमा चतुर्दशी परेकाले आजै महाशिवरात्रि मनाउने निर्णय गरिएको हो। चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म रहनेछ।
शास्त्रीय मान्यता अनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिवले प्रकट रूप धारण गरेकाले यस दिन विशेष पूजा, आराधना र दर्शन गरे सुख, शान्ति तथा सद्गति प्राप्त हुने विश्वास रहेको समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज बिहानै नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा पुगेर पूजाअर्चना गर्ने परम्परा छ। व्रतमध्ये सर्वोत्तम मानिने महाशिवरात्रिमा भक्तजनले उपवास बस्ने, रातभर जाग्राम गर्ने तथा भगवान् शिवलाई प्रिय वस्तु दूध, बेलपत्र र धतुरो चढाउने गर्दछन्।
पशुपतिनाथ क्षेत्रमा आज चार प्रहरमा विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका कार्यक्रम आयोजना गरिएका छन्। साथै कैलाशकुट र किरातेश्वर क्षेत्रमा शास्त्रीय नाचगानसमेत सञ्चालन भइरहेको छ।
महाशिवरात्रि राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने गरिन्छ। यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासका कारण विभिन्न स्थानमा धुनी बाल्ने, भजन–कीर्तन गर्ने तथा प्रसाद ग्रहण गर्ने परम्परा पनि रहेको छ।