निजी क्षेत्रको लगानीमा स्थापना गरिएको केयरटेकर अस्पताल धनगढीमा सञ्चालनमा आएको छ । करिब ३० करोड रुपैयाँ लगानीमा स्थापना गरिएको अस्पतालले हाल १०० शय्यामा उपचार सेवा प्रदान गरिरहेको छ ।
केयरटेकर अस्पताल प्रालिका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार २४सै घण्टा आकस्मिक सेवा तथा विभिन्न विशेषज्ञ उपचार सेवा उपलब्ध छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निजी लगानी बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष शाहीले अस्पतालमा सिटी स्क्यान, भेन्टिलेटर, कार्डियोलोजी, क्यान्सर उपचारलगायत सेवा छिट्टै थप्ने तयारी भइरहेको जानकारी दिए ।यी सेवा थपिएसँगै अस्पतालको कुल लगानी एक अर्ब रुपैयाँ पुग्ने उनको भनाइ छ ।
अस्पताल व्यवस्थापनका अनुसार आगामी दिनमा नर्सिङ तथा हेल्थ एसिस्टेन्टको पठनपाठन र सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।
अध्यक्ष शाहीले केयरटेकर अस्पतालले सहुलियत शुल्कमा उपचार सेवा दिइरहेको दाबी गरे ।
“धेरै नागरिक आर्थिक अभावका कारण उपचारबाट वञ्चित छन् । सरकारी अस्पतालमा अत्यधिक भिड छ भने निजी अस्पतालमा उपचार शुल्क महँगो छ,” उनले भने, “यही खाडल पूर्ति गर्न सहुलियत दरमा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”
आधुनिक उपचार सेवा उपलब्ध
अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक शल्यक्रिया कक्ष, प्रसूति सेवा, हाडजोर्नी तथा नसा रोग, मुटु रोग, नाक–कान–घाँटी, रेडियोलोजी, युरो सर्जरीलगायतका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
सञ्चालक पक्षले आर्थिक लाभभन्दा सेवामुखी उद्देश्यलाई प्राथमिकता दिइने दाबी गरेको छ ।
यसअघिको स्वस्तिक कार्डियो अस्पताल नयाँ व्यवस्थापन र केयरटेकर अस्पताल नामबाट सञ्चालनमा आएको हो ।