सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ। धनगढीस्थित एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) अन्तर्गत शिक्षा र खेलकुदको समन्वय गर्दै आएको छ। पहिलो सिजनदेखि नै टिमसँग सहकार्य गर्दै आएको यस कलेजसँग अब थप दुई सिजनसम्मको साझेदारी हुने निश्चित भएको छ।
एसपीए कलेजका प्रबन्ध निर्देशक तथा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुभाष शाहीले भने, "हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ।"
हालै एसपीए कलेजले मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप जित्न योगदान पुर्याउने सुदूरपश्चिमका दुई युवा खेलाडी– सचिन भट्ट र सुशील रावल लाई जनही २५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ। विशेष उल्लेखनीय कुरा के छ भने, सुशील रावल सुदूरपश्चिम रोयल्सले पहिलो सिजनमा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत चयन भएका खेलाडी हुन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले यस साझेदारीको महत्त्व औंल्याउँदै भने, "सुदूरपश्चिम रोयल्स परिवार सुभाष शाहीप्रति अत्यन्त आभारी छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उनको दृष्टिकोणले हालसालै नयाँ गति पाएको छ, र हामी एक फ्रेन्चाइजका रूपमा त्यसलाई समर्थन गर्न पाउँदा गर्व महसुस गर्छौं।"
खड्काले आगामी वर्षहरूमा पनि साझेदारी निरन्तर रहने विश्वास व्यक्त गर्दै, शाहीको नेतृत्वमा आयोजना हुने सम्भावित फ्रेन्चाइज लिगहरूमा पनि सुदूरपश्चिम रोयल्सको सहभागिता रहने संकेत गरेका छन्।