सुदूरपश्चिम प्रदेशको धनगढीमा “आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्यमा सार्वभौमिक पहुँच” विषयक नीति संवाद सम्पन्न भएको छ। कार्यक्रम प्रदेशका सांसदहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग सरोकारवालाबीचको अन्तरक्रियाका रूपमा आयोजना गरिएको थियो।
सामाजिक विकास मन्त्री मेघराज खड्काको उपस्थितिमा सम्पन्न कार्यक्रमका प्रदेशका स्वास्थ्य सचिव डा. हेमराज रेग्मीले सुदूरपश्चिम प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको अवस्थाबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे।
सचिव रेग्मीले स्वास्थ्य सेवा प्रवाहका लागि मन्त्रालयअन्तर्गत २ वटा महाशाखा, ६ वटा विभाग तथा ३२ वटा शाखामार्फत सेवा दिइरहेको जानकारी गराए। यद्यपि, सूचकाङ्कका आधारमा प्रदेशको अवस्था अन्य प्रदेशहरूभन्दा पछाडि रहेको तथ्य उनले प्रस्तुत गरे।
उनले भने,' मातृ मृत्युदर विगत पाँच वर्षको अवधिमा सुदूरपश्चिममा झण्डै ३७ प्रतिशत ,शिशु मृत्युदर ४९ प्रतिशत, जुन अन्य प्रदेशहरूभन्दा उच्च छ।'
यस्तै पुडकोपन राष्ट्रिय औसत २४.८% भए पनि सुदूरपश्चिममा २८% रहेको उनले जानकारी दिए। यस्तै हालसम्म ५४ प्रतिशत बालबालिकाले मात्रै यस प्रदेशमा खोप सेवा प्राप्त गरेका छन्। प्रदेशमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराइने सुत्केरीको सन्ख्या ८७ प्रतिशत पुगेको उनले बताए।
यो प्रदेशमा आत्महत्या गत बर्श २०८०/८१ मा ५८० जनाले गरेका छन भने नेपालमा बर्सेनि ७ हजार को हाराहारीमा आत्महत्या गर्ने गरेको उनले बताए ।कार्यक्रममा सहभागी प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरूले स्वास्थ्य सूचकाङ्क सुधारका लागि नीतिगत सुधार, बजेटको प्राथमिकता, सेवा विस्तार र चेतनामूलक अभियान आवश्यक रहेको सुझाव दिएका थिए।