गोदावरी नगरपालिकाले बुधबार एक औपचारिक समारोहमार्फत आफूलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना’ घोषणा गरेको छ।
गोदावरी नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख विरेन्द्र भट्टले स्थानीय स्रोत, स्वामित्व र सहभागिताको उपयोगमार्फत जनस्वास्थ्यमा लगानी गर्ने प्रतिबद्धता जनाउँदै घोषणाको घोषणा गरेका हुन्।
नगरप्रमुख भट्टले भने, “खोप मात्र एक सेवा होइन, यो जनस्वास्थ्यमा दीर्घकालीन लगानी हो। स्वास्थ्य क्षेत्रको सुदृढीकरण र जनताको सशक्तिकरण हाम्रो प्रमुख लक्ष्य हो।”
नगर उपप्रमुख शारदा देवी रोकायाले स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै भनिन्, “खोप कार्यक्रमका कारण नगरमा शिशु मृत्यु दरमा स्पष्ट रूपमा कमी आएको छ। हाम्रो नगरका स्वास्थ्यकर्मीहरूले अतुलनीय योगदान पुर्याएका छन्।”
रोकायाले आगामी दिनहरूमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता समेत जनाइन्।
स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार, पूर्ण खोप सुनिश्चितताको लागि आवश्यक सबै मापदण्डहरू पालिकाले पुरा गरिसकेको छ। “गोदावरी नगरमा हालसम्म ९३ प्रतिशत खोप कार्यान्वयन भइसकेको छ, आगामी वर्ष यो संख्या अझै बढाइनेछ,” अवस्थीले जानकारी दिए।
उनका अनुसार नगरभित्रका १८ वटा आधारभूत स्वास्थ्य संस्थामार्फत ३२ वटा खोप केन्द्र संचालनमा छन्, जसले १५ प्रकारका रोगविरुद्ध खोप सेवा प्रदान गरिरहेका छन्। वडाहरू १ देखि १२ सम्मका ०–२३ महिनासम्मका ३,५९९ बालबालिकामध्ये १,७९१ जना १ वर्षभित्र पूर्ण खोप सेवा प्राप्त गरिसकेका छन्।
कार्यक्रममा खोप अभियानमा विशेष योगदान दिने ३६ जना अनमी र अहेबलाई खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।