कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति र गेटा अस्पतालका निर्देशक डा. प्रमोद यादवबीच अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, र भविष्यको योजना सम्बन्धमा छलफल सम्पन्न भएको छ।
छलफलमा सहभागीहरूले अस्पतालको सेवा प्रभावकारी नबहेको, मनोमानी कर्मचारी सरुवा तथा हटाउने, तथा आवश्यक उपकरणको अभावका कारण बिरामीहरूलाई निजी अस्पताल पठाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका थिए।
संघर्ष समितिका संयोजक लोक राज पाण्डेले ३ सय शय्याको भनिएको अस्पतालमा हाल ५० शय्या मात्र सञ्चालनमा रहेको र त्यो पनि पूर्णरूपमा सञ्चालनमा नरहेको बताएका छन्।
“अस्पतालमा ओपीडी मात्र चलिरहेको छ, तर डाक्टरहरू अस्पतालमै नबस्ने गरेको गुनासो आउँछ,” उनले भने, “मेसिन बिग्रिएको भन्दै निजी अस्पताल पठाउने काम भइरहेको छ, जुन जनस्वास्थ्यप्रति गम्भीर लापरबाही हो।”
उनले आगामी आर्थिक वर्षदेखि ३ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन नीति र बजेटको व्यवस्था गर्नुपर्ने, साथै चिकित्सा शिक्षा अध्यापन सुरु गर्न उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
संघर्ष समितिका सचिव धर्म सिंह कुवरले छलफल अस्पतालको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र आवश्यक सुधारका लागि दबाब दिने उद्देश्यले गरिएको बताए।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद यादवले हालसम्म अस्पताल अघिल्लो नेतृत्वको कार्ययोजनाअनुसार सञ्चालनमा रहेको बताए। उनले आगामी साउनदेखि आफूले बनाएका योजनाअनुसार स्वास्थ्य बीमा, मातृ-शिशु कार्यक्रम, र अन्य सेवा विस्तार सुरु गरिने जानकारी दिए।
“अस्पतालको खाता अझै नखुलेकोले आम्दानी खर्च गर्न सकिएको छैन,” उनले भने, “तर साउनदेखि सबै प्रक्रिया अगाडि बढाइनेछ।”त्यस्तै, ३ सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति र दरबन्दी माग भइसकेको पनि उनले स्पष्ट गरे।
कर्मचारी सरुवा र हटाइएका बायोमेडिकल इन्जिनियरसम्बन्धी विवादबारे उनले भने, “कुनै पनि अधिकृत तहको कर्मचारीलाई ज्यालादारीमा राख्न नपाइने सरकारको सर्कुलरका आधारमा पुरानो इन्जिनियर हटाएर नयाँ करारमा ल्याइएको हो।”