धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा आज एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू तथा विशिष्ट अतिथिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा प्रशिक्षण प्रणाली, अनुशासन, प्रदर्शन र आगामी योजना सम्बन्धी विभिन्न महत्त्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा अलराउण्डर क्रिकेटर तथा एसपीए कलेजका ब्रान्ड एम्बासडर नारायण जोशीले आफू पनि डिसिएमै प्रशिक्षण लिएर राष्ट्रिय स्तरसम्म पुगेको उल्लेख गर्दै, डिसिएलाई क्रिकेट प्रशिक्षणका लागि उत्कृष्ट थलो भएको बताए। साथै, उनले धनगढी क्रिकेट एकेडेमीप्रति आभार प्रकट गरे।
कार्यक्रममा चर्चित स्ट्याण्डअप कमेडियन सन्दीप क्षेत्रीको विशेष उपस्थिति रहनुले थप उत्साह थपेको थियो। उनले खेलाडीहरूसँग केही समय मैदानमा क्रिकेट खेलेर उनीहरूलाई हौसला प्रदान गरे। अभिभावकहरूलाई सम्बोधन गर्दै क्षेत्रीले भने, "बालबालिकाको प्रतिभा उजागर गर्न अभिभावकको भूमिका निर्णायक हुन्छ। खेलकुदजस्तो अनुशासन र समर्पणको माध्यमबाट उनीहरूको भविष्य उज्यालो बनाउन तपाईँहरूको निरन्तर साथ आवश्यक छ।"
क्षेत्रीले भारतका चर्चित क्रिकेटर विराट कोहलीको उदाहरण दिँदै भने, "कोहलीजस्तो खेलाडी पनि अहिले प्रशिक्षकको साथमा नियमित अभ्यास गरिरहेका छन्। त्यसैले, सिकाइ कहिल्यै सकिँदैन। हारजित वा पास–फेल जीवनको हिस्सा हो, तर हामीले आफ्ना नानीबाबुलाई सकारात्मक सोचतर्फ प्रेरित गर्नुपर्छ, अनावश्यक दबाब दिनु हुँदैन।"
कार्यक्रमका अर्का विशिष्ट वक्ता पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी तथा क्यानका पूर्व प्रमुख चयनकर्ता दीपेन्द्र चौधरीले एकेडेमीको योगदानको प्रशंसा गर्दै भने, "धनगढी क्रिकेट एकेडेमीले अनुशासित, समर्पित र दक्ष खेलाडी उत्पादन गरिरहेको छ। हाल राष्ट्रिय स्तरमा रहेका धेरैजसो खेलाडी यतैबाट प्रशिक्षण लिएर अगाडि बढेका हुन्। आगामी दिनमा पनि यस्ता प्रतिभालाई राष्ट्रिय तहमा देख्न पाउनु गर्वको विषय हुनेछ।"
कार्यक्रममा एकेडेमीका अध्यक्ष सुवास शाही, प्रशिक्षकहरू, अभिभावकहरू तथा अन्य सरोकारवालाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले प्रशिक्षण पद्धति, अनुशासन र व्यवस्थापनप्रति सन्तोष जनाउँदै अझ प्रभावकारी प्रशिक्षण प्रविधि प्रयोग गर्न सुझाव दिएका थिए।