मालपोखरी क्रिकेट क्लबलाई हराउँदै अत्तरिया क्रिकेट एकेडेमी पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी-२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अत्तरिया शतप्रतिशत जितका साथ समूह ‘डी’ मा शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मालपोखरीले दिएको १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।
अत्तरियाका लागि ओपनर अभिषेक पलले ३८, निश्चल क्षेत्रीले ३०, विपिन रावल १६ र अर्जुन विकले १२ को योगदान दिए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीले निर्धारित २० ओभरमा १२४ रनको योगफल तयार पारेको थियो । मालपोखरीका लागि विजय गुप्ताले ३८, जितेश मण्डल र डब्लु मलिकले १७-१७, सोहनकुमार यादवले १६ र सिराज हावारी १३ रनको योगदान दिए ।
अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २-२ तथा भोजराज भट्टले १ विकेट लिए ।
यसअघि समूह ‘ए’ बाट सीइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका थिए ।