काठमाडौँ – काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबको सोमबार भव्य स्वागत गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लब भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लबका खेलाडीको भव्य स्वागत गरिएको हो। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए।
टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा पुर्याइएको थियो। त्यहाँ सञ्चारकर्मी प्रवेशमा भने रोक लगाइएको थियो।
नेपाल पुलिस क्लबले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो।
माल्दिभ्समा शनिबार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ क्लबले प्रतिष्पर्धा गरेका थिए। लिग चरणमा नेपाल पुलिसले हुमोसँगै श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो।
नेपाल पुलिसले माल्दिभ्सका टोली वाम्को क्लबलाई ३–२ र माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो। पुलिसले आठौँ एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रश्तुत गरेको हो।
यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपीएफ क्लबकी स्पाइक सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्युू डायमण्ड स्पोर्ट्स क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।