अत्तरिया - कैलालीमा यस बर्ष पनि स्थानीय तहहरूको बजेट खर्च न्यून रहेको पाइएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीका सबै स्थानिय तहको बजेट खर्च न्यून रहेको पाइएको हो ।
दोस्रो चौमासिक सम्म आइपुग्दा केही स्थानीय तहले त योजनाहरु नै शुरु गरेका छैनन् । अहिले सम्म सबै भन्दा बढी सबैभन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलव ११ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ ।
यस्तै सबै भन्दा कम खर्च गोदावरी नगरपालिकाले ३० दशमलव ३९ प्रतिशत मात्रै खर्च गरेको कार्यालयले जनाएको छ ।
यसैगरि धनगढी उपमहानगरपालिकाले ३६ दशमलव १५ प्रतिशत, गौरीगंगा नगरपालिकाले ३९ दशमलव ६१ प्रतिशत , घोडाघोडी नगरपालिकाले ३४ दशमलव ५८ प्रतिशत, टिकापुर नगरपालिकाले ३५ दशमलव ७ प्रतिशत, भजनी नगरपालिकाले ३८ दशमलव ५४ प्रतिशत, लम्कीचुहा नगरपालिकाले ३९ दशमलव ४६ प्रतिशत बजेट खर्च गरेका छन् ।
यस्तै चुरे गाउपालिकाले ३४ दशमलव ६० प्रतिशत, जानकी गाउपालिकाले ३१ दशमलव ४२ प्रतिशत, जोशीपुर गाउपालिकाले ३९ दशमलव ६७ प्रतिशत, बर्दगोरिया गाउपालिकाले ३१ दशमलव २३ प्रतिशत र मोहन्याल गाउपालिकाले ३७ दशमलव ६६ प्रतिशत खर्च गरेका छन् ।
समग्रमा हेर्ने हो भने सबै जिल्लाका १३ ओटै स्थानीय तहको खर्च ३६ दशमलव ६ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जगतप्रकाश भट्टले जानकारी दिए ।
प्रत्येक वर्ष दोहोरिइरहेको असारे विकासका कारणले पनि समयमै बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानाएको छ ।